खोपका खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

खोपका खरिदका लागि २६ अर्ब ७५ करोड बजेट तरुण खबर १६ जेष्ठ २०७८, आईतवार १०:५८
खोपका खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

७२ प्रतिशत जनतालाई खोप लगाउँदा कति रकम खर्च हुन्छ ?
काठमाडौं । नेपालले ७२ प्रतिशत जनतालाई खोप लगाउने उद्देश्य राखेर खरिद प्रकृया अगाडी बढाएको छ । नेपालको जनसंख्या २ करोड ९६ लाख ८५ हजारभन्दा बढी छ । चार महिनाको अवधिमा नेपालले अहिलेसम्म जम्मा २७ लाख डोज खोप लगाएको छ, जुन विश्व वरीयताको हिसाबले हेर्दा नेपाल ५१ नम्बरमा छ ।

गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड–१९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गरेको थियो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा १० लाख डोज आउनै बाँकी छ । यो निकै सस्तो हो । भारतमै खोपको अभावपछि कम्पनीले उक्त खोप पठाउन सकेको छैन । नेपाललाई मूल्य, तापक्रम र ढुवानीका हिसाबले सबैभन्दा सहज हुने भारतको सेरम इन्स्टिच्युटको कोभिशिल्ड नै हो । चीन र अमेरिकासँग नेपालले खरिद गर्न लागेको खोपको मूल्य कति पर्छ यकिन छैन ।

हालै बंगलादेशले चीनसँग प्रतिडोज १० डलरमा खरिद गर्ने सम्झौता गरेको छ । भारतले रुसी खोपलाई पनि औसत १० डलरकै हाराहारीमा खरिद गरेको छ । खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ लाग्ने सरकारले अनुमान गरेको भएपनि २६ अर्ब ७५ करोड मात्र सरकारले बजेट छुट्एको छ । सरकारले एक डोज खोपलाई औसतमा १० डलर लाग्ने अनुमान गरेको छ । भ्याक्सिन खरिदका लागि सरकारले सरकारकै स्रोत प्रयोग गर्ने र बाँकी राष्ट्रसंघीय निकाय र वैदेशिक संस्थाहरुसँग सहायता लिने योजनामा छ ।

त्यस्तै अमेरिकामा उत्पादित भ्याक्सिन फाइजर बायो एनटेकको अमेरिकामै प्रतिडोज १९.५० अमेरिकी डलर पर्ने गरेको छ । उक्त भ्याक्सिनलाई युरोपेली युनियन सम्बद्ध मुलुकहरुले प्रतिडोज १४.५० युरो तिरिरहेका छन् । खोपको विकासमा लगानी गरेका कारण इयूका लागि फाइजर खोपको मूल्य कम पर्न गएको बताइएको छ । उसो त नेपालले रुसी खोप स्पुतनिक भी, भारतको कोभ्याक्सिन, अमेरिकाको जोन्सन एण्ड जोन्सन लगायतलाई स्वीकृति प्रदान गरिसकेको छ । त्यस्तै निकै प्रभावकारी मानिएका फाइजर, मोर्डेना लगायतका खोप खरीदको विकल्प पनि नेपालसँग छ ।

तथापि ती खोपहरुको मूल्य चाहीँ निकै चर्को पर्ने भएको छ । नेपालले खरीद गरिसकेको कोभिशिल्डको मूल्यमा अन्य खोपहरु प्राप्त हुन मुस्किल मात्र होइन असम्भव नै देखिएको छ । युरोपेली युनियनले प्रतिडोज २.१५ अमेरिकी डलरमा खरीद गरेको बेलायतमा उत्पादित अक्सफोर्ड एण्ड एस्ट्राजेनिकाको खोपलाई दक्षिण अफ्रिकाले ५.२५ अमेरिकी डलर तिर्यो भने बंगलादेशले ५ अमेरिकी डलरमा खरिद गरेको थियो । अमेरिकाले खोपलाई प्रतिडोज ४ डलर तिर्ने गरेको छ । जबकी बेलायतमै उत्पादन हुने उक्त खोपको लागत नै ३ अमेरिकी डलर पर्ने बताइएको छ ।

भारतमा सेरम इन्स्टिच्यूटले उत्पादन गर्ने एस्ट्राजेनिका खोप भारतको केन्द्रीय सरकारलाई प्रतिडोज झण्डै २ डलर, राज्य सरकारहरुलाई प्रतिडोज झण्डै ४ डलरसम्ममा बिक्रि गरिरहेको छ । कम्पनीले यो खोपको २ डलर देखि ८ डलरसम्ममा बिक्रि गर्ने गरेको छ । नेपालले यसअघि प्रतिडोज ४ डलरमा यहीँ खोप किनेको थियो । अक्सफोर्ड एस्ट्राजेनिका खोपको प्रभावकारीता झण्डै ७० प्रतिशत हुने बताइएको छ । यो खोप कोरोना भाइरसको बेलायती तथा ब्राजिलियन भेरिएन्ट विरुद्ध प्रभावकारी भएतापनि दक्षिण अफ्रिकी भेरिएन्ट विरुद्ध खासै प्रभावकारी नहुने बताइन्छ । चीनले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेपछि १८ लाख खोप भएको छ । पछिल्लो समय खोप खरिदमा नेपालको अपेक्षा चीन र रसियासँग रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले अमेरिकाबाट ५० लाख र चीनबाट ५० लाख खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दुवै खरिद प्रक्रियामा अब केही दिनभित्रै ब्रेक थ्रु हुने बताइएको छ । भारतको कोभिशिल्ड लिएका ६० वर्ष भन्दा माथिका १३ लाख ज्येष्ठ नागरिकलाई सरकारले दोस्रो डोज दिन सकेको छैन । विश्वमा सबैभन्दा पहिले खोप तयार भएको घोषणा गर्ने र आफ्ना नागरिकलाई खोप लगाउने मुलुक रुस हो । सन् २०२० को डिसेम्बरमै नेपालमा कोराना खोप आउने चर्चा थियो । तर, शुरुमा उसले तयार पारेको ‘स्पुतनिक भी’ खोपको सुरक्षा र प्रभावकारिताको बारेमा केही प्रश्न उठ्यो । पछिल्ला केही महिनायता रसियाको खोपको प्रभावकारिताको बारेमा वैज्ञानिक अध्ययनले प्रभावकारी देखाए ।