तरुण खबर
९ असार २०८०, शनिबार १३:३५
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागद्वारा लोपोन्मुख असारे तथा दाइ गीत विषयक सङ्गोष्ठी आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा वरिष्ठ लोकगायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय साँस्कृतिक संस्थानमा असार ८ गते कार्यक्रम सम्पन्न भएको हो ।
लुगुम्याल चेलीबेटी आमा समूहको पञ्चे बाजासँगै पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा असारे तथा दाई गीत विषयक कार्यपत्र तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
लोक सङ्गीत विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ टीका पुनले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा गायक किरण बाबु पुनले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि पूर्वसांसद एवं संस्कृतिकर्मी बमकुमारी बुढा र डा. ध्रु प्रसाद भट्टराईले टिप्पणी गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपकुलपति शम्भु राईले मौलिक कला संरक्षणमा राज्यको मात्र मुख ताक्न नहुने बताउँदै पश्चिमका देउडा गाउने कलाकारले पूर्वको हाकपारे, हिमालका शेर्पाले मैथिलीर भोजपुरी गीत र यस्तै प्रकारले एक समुदाले अर्को समुदायको गीत गाउन सक्ने वातावरण बनाउन सके सबै जातजातिका गीत सङ्गीत संरक्षण हुने बताए ।
यसतै कार्यक्रममा वरिष्ठ गायक बमबहादुर कार्कीले कला र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको स्थापना गरेर अघि बढेको बताए ।
साङ्गीतिक प्रस्तुति दिने क्रममा शिवनारायण जोशी र समूहले घाँसे गीत, अथार मगरात कलाकार संघका कलाकारहरूले दाइँ गीत, पञ्चरङ्ग भजन समूह भक्तपुरका कलाकारले उपत्यकाका नेवार समुदायमा प्रचलित असारे गीत तथा विपिन घिमिरे र शिला विष्टलद्वारा गड्वाली गीत प्रस्तुत गरिएको थियो । हरि पुन मगरले सहजीकरण गरेको कार्क्रममा खबपु चञ्चलले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए ।


