तरुण खबर
१४ असार २०८०, बिहीबार १३:०४
काठमाडौं । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सामान्यदेखि पूर्ण बदली भई बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा भोलि (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना छ। राति पनि देशका धेरै स्थानमा पानी पर्ने छ । यसका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।
शनिबार पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।


