तरुण खबर
१८ जेष्ठ २०७८, मंगलवार ११:३५
काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाई मंगलबार पनि संवैधानिक इजलासमा जारी रहने भएको छ । तर इजलासमा मुद्दाको निरुपणको विषयले नभई संवैधानिक इजलासबाट न्यायाधीशहरु बाहिरिने कि नबाहिरने भन्ने विषयले प्राथमिकता पाएको छ । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने कि नरहने भन्ने टुंगो मंगलबार इजलासबाटै लाग्ने अनुमान गरिएको छ ।
१४६ जना सांसदको पक्षाका वकिलहरुले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्नु पर्ने माग गर्दै आएका छन् । केसी र श्रेष्ठले नछाड्ने भनेर तयार पारेको आदेशमा अरु दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नमानेपछि विषय जटिल भएको छ । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका छन् ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित अनौपचारिक रुपमा बसेको संवैधानिक इजलासको रोष्टरमा रहेका १३ न्यायाधीशहरुको छलफलमा ‘प्रश्न उठेपछि इजलास छाड्नु नै उपयुक्त हुने’ सुझाव अरु न्यायाधीशले पनि दिएका थिए । तर प्रधानन्यायाधीश राणा भने केसी र श्रेष्ठलाई नछोडाउने पक्षमा छन् ।


