तरुण खबर
३० माघ २०७७, शुक्रबार १०:०९
काठमाडौं । कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि बिबिसीले प्रसारण गरेको रिपोर्टको आलोचना गर्दै चीनले बिबिसी वल्र्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको छ । चीनमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरेको छ ।
बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले जनाएको छ । एक वक्तव्यमा ब्रिटेनको विदेश मन्त्रालयले भनेको छ कि चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु छ । चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने छ वक्तव्यमा भनिएको छ ।
अघिल्लो हप्ता ब्रिटेनको मिडिया नियामक निकायले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । बिबिसीका एशिया एडिटरले चीनमा बिबिसी वल्र्ड सर्विस टिभिको प्रसारण रोकिनुले धेरै असर नपर्ने बताएका छन् । बिबिसीले चीनमा टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ ।


