परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै तरुण खबर ३१ असार २०८०, आईतवार १२:३७
परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड जाँदैछन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा भाग लिन उनी आज थाइल्याण्ड जान लागेका हुन् ।

मन्त्री साउद आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिट सोमबार (जुलाई १७) बैंककमा हुँदैछ। बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो । थाइल्याण्ड अहिले बिमस्टेकको अध्यक्ष राष्ट्र हो ।

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन्। रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुने बताइएको छ। परराष्ट्रमन्त्री साउद मंगलबार दिउँसो स्वदेश फर्किने छन्।