विज्ञहरुले भने– कृषि उत्पादनमा उचित नीतिको खाँचो

विज्ञहरुले भने– कृषि उत्पादनमा उचित नीतिको खाँचो तरुण खबर २० जेष्ठ २०७८, बिहीबार ११:२२
विज्ञहरुले भने– कृषि उत्पादनमा उचित नीतिको खाँचो

काठमाडौं । कृषि क्षेत्रका विज्ञ तथा व्यबसायीहरुले व्यबसायीक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आबश्यकतामा पनि जोड दिएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताए ।

उनले भने– ‘मन्त्रालयले १० लाखभन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं । कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफुहरु लागि परेको भन्दै सचिव कार्कीले कृषि ज्ञान केन्द्रमार्फत यस विषयमा किसानहरुलाई सूचना दिनुपर्ने बताए । उनले संघ, प्रदेश र स्थानीयतहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एक रुपता आउने र दोहोरपना घट्ने बताए ।  उनले कोभिड–१९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिए ।

विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडी बढाउँदै जानुपर्ने उनको भनाई थियो ।  कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा बरिष्ठ उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताएका थिए । उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको गुनासो गरेका थिए । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै राम्रो आएपनि केही नहुने बताए ।  उनले कृषिको प्रशोधन, उत्पादन भएका बस्तुको बजारीकरणका लागि संरचना बनाउनु पर्ने बताए ।

कृषिकर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अगाडी भने– उत्पादन गर्ने व्यक्ति सबै समान छन्् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यबसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु । सोही कार्यक्रममा वरिष्ठ कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागतभन्दा माथि जान नसकेको बताएका थिए । उनले भने– कृषिमा बजेट केहि पनि छैन, ६० प्रतिशत कृषिमा आश्रीत हुँदा बजेट ३ प्रतिशत पनि नहुँनु दुःख लाग्दो विषय हो ।

त्यस्तै कफी व्यबसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफि क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताए । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा कृषकहरु फनिनारायण अर्याल, गोविन्द प्रसाद आचार्य, बुद्ध लामा, भोजराज श्रेष्ठ, नारायण प्रसाद पंगेनी, यम कार्की, राजन गैरे, सरिता श्रेष्ठ, शान्त लामा, माया तिवारी, श्रीकृष्ण अधिकारी, पृथ्वी भुजेल लगायतले कृषिमा अनुदान आए पनि पहुँचवालाको हालिमुहाली भएको भन्दै साना किसानको पहुँच राज्यसँग पुग्न नसकेको गुनासो गरेका थिए ।