तरुण खबर
२२ जेष्ठ २०७८, शनिबार ११:५४
संसद पुनस्थापना हुने आशंकामा बहुमत जुटाउने खेल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रीपरिषदप्रति असन्तुष्टी जनाउँदै बाहिरै बस्ने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा निवर्तमान स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले असन्तुष्टी जनाएका थिए । उने भने– क्याबिनेट सिस्टम भनेको त्यसका केही मूलभूत सिद्धान्त हुन्छन् । त्यो सिद्धान्तमा सिनियारिटी÷जुनियारिटी पनि हुन्छ, हुनुपर्छ । त्यसले गर्दा मलाई नैतिक संकट आयो ।
त्यसैले म बस्न सकिन । कोरोनाभाइरस महामारीकाबीच निकै चासोका साथ हेरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व एमाले नेता शेरबहादुर तामाङले पाएका छन् । सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित तामाङ भूतपूर्व सांसद भई सकेका छन् । संसद पुनस्थापना हुने आशंकामा प्रधानमन्त्री ओलले आफूसँग बहुमत जुटाउने कोशिस गरिहेका छन् । महन्थ ठाकुर समूहलाई मन्त्रीपरिषदमा सहभागी गराउनुको प्रमुख कारण त्यही हो भनिन्छ । माधवकुमार नेपाल समूहका अधिकांश सांसदहरुलाई कारवाहीबाट रोक्नुको कारण पनि त्यही हो । नेपाल समूहका युवाहरु आफूसँग आउने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास रहेको बताइन्छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरसँग रहेका २१ सांसद र एमालेमा नेपाल समूहमा गएका अधिकांश सांसद आफूसँग आउने प्रधानमन्त्री ओलीको विश्वास छ । १२१ सांसदमध्ये बढीमा ११ जना मात्र सांसद नेपाल पक्षमा जाने उनलाई विश्वास दिलाइएको छ । एमालेका ११० र जसपाकै २१ जना सांसद हुँदा पनि १३१ जना हुनेछन् । संसदमा बहुमत सिद्ध गर्न १३६ सांसदको मत अबस्यक छ । उपेन्द्र यादव समूहमा रहेका ११ जना सांसदको दलीय हैसियत नरहने हुँदा यादवसँग रहेका सांसदसहित गणना गर्दा बहुमत पुग्ने प्रधानमन्त्री ओलीको विश्वास रहेको बताइन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद्मा शुक्रबार हेरफेर गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा; वन तथा वातावरण; सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयहरू आफैसँग राखेका छन् । आठ मन्त्रालय सहित जनता समाजवादी पार्टी (जसपा) नेपालको एक समूह सरकारमा सहभागी भएको छ । नेकपा एमाले र जसपा, नेपाल सहभागी सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।
एमाले नेता विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, रघुबीर महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्री र जसपाका नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्त भएका छन् । यसअघिको सरकारमा एमाले महासचिव ईश्वर पोखरेल एक जना मात्रै उपप्रधानमन्त्री थिए । अर्थमन्त्री पौडेलका साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई दोहोरिएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट नेता शरतसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिँचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन् । चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्रीको जिम्म्वारी प्राप्त गरेका छन् भने रेणुका गुरुङ महिला राज्यमन्त्री बनेकी छन् ।
जन्मसिद्ध नागरिकका सन्तान करिब ७ लाख बालबालिकाले नागरिकता पाउने, करिब डेढ सय कार्यकर्ताहरूमाथि लागेका मुद्दा खारेज हुने र संविधान संशोधनका निम्ति उच्चस्तरिय समिति बन्ने जस्ता आफ्ना केही मागहरू ओली सरकारले “पुरा गरिसकेको र अन्य केही पुरा हुने क्रममा रहेका“ कारण सरकारमा जाने वातावरण बनेको दावी अध्यक्ष महन्थ ठाकुर पक्षधर नेताहरूले बताउँदै आएका छन् ।


