तरुण सम्वाददाता
७ चैत्र २०८१, बिहीबार ०८:५८
काठमाडौं । बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ ।
देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो । परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ ।
परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार) मा छन् । जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ ।
परीक्षा सञ्चालनका लागि देशभर ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार आठ सय कर्मचारी खटिएका छन् । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६ सय र सबैभन्दा कम मनाङबाट ४३ परीक्षार्थी सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा ९० दिनभित्र अर्थात् ७ असारमा प्रकाशन गर्ने जनाएको छ ।


