बालुवाटारले प्रेस चौतारीको अध्यक्ष तोकेपछि राजेश राईको चुनौती, निर्वाचनबाटै नेतृत्व चयन गर्न माग

बालुवाटारले प्रेस चौतारीको अध्यक्ष तोकेपछि राजेश राईको चुनौती, निर्वाचनबाटै नेतृत्व चयन गर्न माग तरुण संवाददाता १० चैत्र २०८१, आईतवार ०९:३१
बालुवाटारले प्रेस चौतारीको अध्यक्ष तोकेपछि राजेश राईको चुनौती, निर्वाचनबाटै नेतृत्व चयन गर्न माग

काठमाडौं । एमाले निकट प्रेस चौतारीको दशौं महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरु हुँदैछ । तर महाधिवेशनभन्दा अगाडि नै प्रधानमन्त्री केपी ओलीले गणेश पाण्डेलाई अध्यक्षको टीका लगाइदिएपछि अर्का आकांक्षी राजेश राईले चुनौती दिएका छन् ।

राईले महाधिवेशन सुरु हुनुअघि लामो प्रेस नोट जारी गर्दै निर्वाचनकै माध्यमबाट नयाँ नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन् । अहिले बाहिर हल्ला र चर्चा गरिए जस्तो चौतारीमा कुनै त्यस्तो सम्भावना नरहेको भन्दै एमाले अध्यक्ष ओलीलाई समेत बोधार्थ पठाएका छन् । राई चौतारीका अध्यक्षका दाबेदार हुन् । तर उनलाई एमाले नेता योगेश भट्टराई र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट भन्दै ओली पक्षले नेतृत्वमा ल्याउन चाहेको छैन ।

प्रेस चौतारीका उपाध्यक्षसमेत रहेका पाण्डे भने ईश्वर पोखरेल निकट पत्रकार हुन् । यदि नयाँ नेतृत्वका लागि चुनाव भएमा राईले बाजी मार्ने सम्भावना रहेको एमाले निकट पत्रकारहरु बताउँछन् । प्रधानमन्त्री ओलीले भने अध्यक्षमा पाण्डे र महासचिवमा झापाकै चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका छन् । अधिकारी ओली पहिले प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए ।

राईले लेखेका छन्
हामी यतिबेला प्रेस चौतारी नेपालको नीति र नेतृत्व निर्माणका निमित्त विराटनगरमा जुटेका छौँ । प्रेस चौतारी नेपालको यो ऐतिहासिक दशौ राष्टिय सम्मेलनलाई राष्ट्रिय चासोका साथ हेरिएको छ । र स्वभाविक पनि हो । देशका सात हजार बढी पत्रकारहरु आवद्ध रहेको संस्था र देशकै नेतृत्व गरिरहेको नेकपा एमालेको जनसंगठन हुनुको हैसियतले यतिको चासो र चर्चा आवश्यक छ ।

तपाईहरुको चासो र चाहनालाई ठेस् नलाग्नेगरी प्रेस चौतारी नेपालको नीति र नेतृत्व निर्माण हुनेमा विश्वस्त छु । तर हाम्रो महाधिवेशनलाई लिएर कतिपयले पार्टीकै लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धताप्रति नै शंका गरेको पाइयो । त्यस्तो शंका हुनु भनेको जबजको मूल्य मान्यता, देशको शासन प्रणाली र देशभरबाट आउनु भएका प्रतिनिधिहरुको विवेकमाथि पनि प्रश्न हो । हामी किमार्थ त्यस्तो हुन दिने छैनौं ।
म विश्वास दिलाउन चाहन्छु । प्रेस चौतारी नेपालको नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रिया बमोजिम र सार्वभौम प्रतिनिधिहरुको मत मार्फत हुनेछ ।

पक्कैपनि नेतृत्व पंक्तिको सुझबुझपूर्ण सल्लाह र सुझावलाई प्रतिनिधिहरुले गम्भीरताका साथ लिनेमा पनि म विश्वस्त छु । राष्टिय सम्मेलनमा प्रतिनिधिको अभिमत नै निर्णायक तत्व हो । यस कुरालाई हामीले हेक्का राखेका छौं । सार्वजनिक चर्चा र चिन्ता गरिए जस्तो अलोकतान्त्रिक प्रक्रियामा हाम्रो सम्मेलन जानेछैन । र जान दिइने छैन । सार्वभौम प्रतिनिधिहरुले प्रेस चौतारी नेपालको नीति निर्माणमा निर्भय आफ्नो अभिमत राख्नु हुनेछ । नेतृत्व निर्माणका निमित्त चुन्ने र चुनिने प्रक्रियामा सामेल हुनुहुनेछ । पक्कैपनि सर्वसम्मति जुट्नेछ । देशभरबाट आउनु भएका प्रतिनिधि साथीहरुलाई साक्षी राखेर उम्मेदवारहरुबीच सर्वसम्मतिको प्रयत्न हुनेछ ।

यदि सर्वसम्मति नजुटे मत विभाजनको लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनेछ । मैले आफ्नो पृष्ठभूमि र योजनाका साथ यस महाधिवेशन मार्फत केन्द्रिय अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिसकेको छु । प्रतिनिधि र शुभेच्छुकहरुमा मेरो उम्मेदवारबारे कुनै शंका नलिन आग्रह गर्दछु । मेरो उम्मेदवारीको निरुपण लोकतान्त्रिक विधिमार्फत नै हुनेछ । कुनै करबल अथवा अलोकतान्त्रिक विधिप्रति कुनै सम्झौता नहुनेमा ढुक्क रहन आग्रह गर्दछु । र, चुन्ने र चुनिने अधिकारप्रति प्रतिबद्ध रहन सबैमा आग्रह समेत गर्दछु ।