फेरि रोकियो माओवादीको तराई मधेश अभियान, बार्गेनिङका लागि भएको पुष्टि

फेरि रोकियो माओवादीको तराई मधेश अभियान, बार्गेनिङका लागि भएको पुष्टि तरुण खबर ११ चैत्र २०८१, सोमबार ०९:४९
फेरि रोकियो माओवादीको तराई मधेश अभियान, बार्गेनिङका लागि भएको पुष्टि

काठमाडौं । सधैं सत्तामा रहेर ‘तर’ मारिरहेको माओवादीको हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको थियो ।

तर यसअघि माओवादीले राजावादीको सक्रियता बढेको भन्दै फागुन २४ गते बारा पुगेपछि अभियान स्थगित गरेको थियो । यही बीचमा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव भयो । सडक अभियानमा हिँडेको माओवादीको भ्रातृसंगठन अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावमा राम्रै सफलता हासिल गर्यो । त्यसपछि हौसिएको माओवादीले गत बिहीबारदेखि बाराबाटै पुनः अभियान सुरू गरेको थियो ।

चितवन पुगेको अभियान सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । माओवादी नेताहरु आजै काठमाडौं फर्कँदै छन् । माओवादी अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउयासँग संक्रमणकालीन न्यायका विषयमा भेटवार्ता गर्दैछन् । तीन नेताबीचको भेटवार्तामा संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे पनि छलफल हुने छ ।

माओवादीसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ । त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको दाबी गरे पनि माओवादीले आफ्नो बार्गेनिङ पावर बढाउन अभियान चलाउँदै रोक्दै गरेको राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिने बताइएको छ । अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको माओवादीले जनाएको छ । अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियानअन्तर्गतका कार्यक्रम हुनेछ ।