स्वास्थ्यमन्त्री पौडेल भन्छन्, राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भए

स्वास्थ्यमन्त्री पौडेल भन्छन्, राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भए तरुण खबर ११ चैत्र २०८१, सोमबार १९:०८
स्वास्थ्यमन्त्री पौडेल भन्छन्, राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भए

काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पाँचौँ दीक्षान्त समारोहमा सोमबार उनले नीतिसँगै राज्यको परिस्थिति पनि त्यसमा दोषी रहेको धारणा राखे ।

पौडेलले नेपालमा चाहिने स्वास्थ्यतर्फका जनशक्ति उत्पादन भइरहेको पनि हरेक वर्ष एक हजार पाँच सयभन्दा बढी विदेशिने समस्या रहेको उल्लेख गरे । उनले अब नीतिगत सुधारमार्फत समस्या समाधान गरिनुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

न्याम्सका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले नेपालमा गुणस्तरीय र विश्वसनीय उत्पादनमा न्याम्सले पु¥याएको प्रशंसा गरे । उनले न्याम्सले जनशक्ति उत्पादन बढाउँदै गए पनि अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने उपलब्ध हुन नसकेको बताए । ‘उपत्यका बाहिर कतिपय स्वास्थ्य संस्थामा जनशक्ति शून्यताकै स्थिति छ । यहाँ दीक्षित भएका जनशक्ति उपत्यकाभन्दा बाहिर गएर सेवा गर्ने परिस्थिति र अठोट गर्नुपर्छ । सरकारले संगठन एवं व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर चिकित्सक र नर्सको संख्या बढाउने र बाहिर जाने परिस्थितिलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे आवश्यक योजना बनाइरहेको छ’, मन्त्री पौडेलले भने ।

न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न न्याम्सले योगदान गर्दै आएको बताए । ‘हामीले ७२ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस संस्थाले विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ, जो उच्चतम गुणस्तरको विशेष स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्,’ उनले भने ।