गृहेन्द्र घिमिरे भन्छन्, कर्णाली याक्स बिक्रीमा छैन, भ्रम फैलाइयो

गृहेन्द्र घिमिरे भन्छन्, कर्णाली याक्स बिक्रीमा छैन, भ्रम फैलाइयो तरुण खबर १३ चैत्र २०८१, बुधबार १०:४४
गृहेन्द्र घिमिरे भन्छन्, कर्णाली याक्स बिक्रीमा छैन, भ्रम फैलाइयो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्लब कर्णाली याक्सले टिम बिक्रीमा नभएको प्रष्ट पारेको छ । कर्णाली याक्समा नयाँ सञ्चालक भित्रिएको खबर फैलिएसँगै बुधबार क्लबका मालिक गृहेन्द्र घिमिरेले यसबारे प्रस्ट पारेको हुन् ।

‘भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन । तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौं,’ घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्णाली याक्सका सम्पूर्ण शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दछौं ।’

कर्णाली याक्सले कर्णालीबासीको भावनासँग खेलिएको पनि जिकिर गरेको छ । ‘हाम्रो टिमबारे बिना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ,’ घिमिरेले भनेका छन् ।

एनपिएलको पहिलो संस्करण जनकपुरले जित्दा कर्णाली प्लेअफ खेलेको थियो । सोमपाल कामी मार्की रहेको टिममा पूर्व विश्व च्याम्पियन भारतीय चर्चित खेलाडी शिखर धवन समेत खेलेका थिए ।