तरुण खबर
१५ चैत्र २०८१, शुक्रबार १७:४०
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुलपुलाएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले शुक्रबार राजधानीमा ताण्डव देखाएका छन् । प्रसाईलाई जनकमान्डर तोकेर सुरु भएको राजावादीको आन्दोलनको पहिलो दिन नै करोडौं मूल्यबराबरको क्षति भएको छ ।
राजतन्त्र फर्काउने नाममा आफूले लिएको सात अर्ब ऋणको साँवा र ब्याज नतिर्न सडकमा नायकी देखाउँदै शुक्रबार दुर्गा प्रसाईले राजधानीमा जुन हिंसात्मक घटना घटाइएको छ, यसले स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहको उचाइलाई बढ्न नदिने पक्का छ । सरकारले तीनकुनेमा राजावादीहरूले प्रदर्शन गरेको उदण्डताको दोषी पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंसहितका व्यक्तिहरूलाई ठहराएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको बताएका छन् । ‘शान्तिपूर्ण भनेको प्रदर्शन यही हो ? अराजक भीड देखाएर व्यक्तिको सम्पत्ति तोडफोड गर्न र जलाउन पाइँदैन, जसले प्रदर्शन गर्न निर्देशन दियो, उनीहरू नै दोषी हुन्, कारबाहीको दायरामा ल्याइन्छ,’ लेखकको भनाइ छ ।
प्रसाईंले बिहीबार पूर्वराजा शाहलाई भेटेर आन्दोलनको ब्रिफिङ गरेका थिए । उनी घरबाट बाहिर निस्किने बेलामा शाहको फोटो लिएर गाडी अगाडि बढाउँदै भीडलाई उत्तेजित तुल्याएका थिए । पूर्वराजा शाहको जयजयकार गरेर प्रसाईंले आन्दोलनलाई थप उत्तेजित बनाएका थिए । गृहमन्त्री लेखकले निजी सम्पत्ति तोडफोड गर्ने र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने र आन्दोलन गर्न निर्देशन दिने नाइकेलाई पनि कारबाही गर्ने बताएका छन् ।
तीनकुनेका सहदेव पराजुलीको घरमा गरिएको आगजनीबाट भएको क्षति ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईबाट असुल गर्नुपर्ने आवाज उठेको छ । त्यति मात्र होइन, आफू सटरभित्र लुकेर हिंसात्मक आन्दोलन गर्न उक्साउने, सुरक्षाकर्मीको हतियार खोसी उनीहरूलाई मार्न प्रयास गरेको अभियोगमा प्रसाईलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा लगाउन जनस्तरबाट सुझाव आएको छ ।
राजावादीहरूले देशबाट निर्मूल भइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्न व्यक्तिका घरमा आगो झोसे । पार्टी कार्यालयमा आगो झोसे । भाटभटेनी डिपार्टमेन्टल स्टोर लुटपाट गरेका छन् । व्यक्तिको सम्पत्तिसमेत तोडफोड र आगजनी गरेर सुरु भएको राजावादीको आन्दोलनले वैधानिकता गुमाएको छ ।
दुर्गा प्रसाईको सनकले राजसंस्था पुनःस्थापनाको आन्दोलन बीचमै तुहिने आशंका राप्रपाहरुले पहिल्यै नै गरेका थिए । शुक्रबार पनि त्यस्तै भयो । भक्तपुरबाट जुलुसको नेतृत्व गर्दै आएका प्रसाई तीनकुनेमा आएपछि गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोडेर नयाँबानेश्वरतर्फ लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो । यदि प्रसाईले सुरक्षा घेरा नतोडी शान्तिपूर्वक आन्दोलन गरेको भए सरकारलाई नैतिक बल पर्न सक्थ्यो ।
तर आन्दोलन हिंसात्मक भएपछि, स्थिति काबुभन्दा बाहिर गएपछि काठमाडौंका सिडिओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमुल, गौशाला, कोटेश्वर, जडबुटी चोकसम्मका लागि कफ्र्यू आदेश जारी गरेका छन् । पार्टी कार्यालय, मिडिया हाउस, व्यक्तिका निजी घरमा आगजनी गर्ने, तोडफोड हुन थालेपछि जनताले २०६२ माघ १९ को शाही कूपछिको अवस्था सम्झन थालेका छन् । त्यसबेला शाहीसत्ताले गरेका कुकृत्यको झल्को तीनकुने घटनाले स्मरण गराएको छ ।


