तरुण खबर
१६ चैत्र २०८१, शनिबार १०:१७
काठमाडौं । शुक्रबार राजधानीमा भएको हिंसात्मक आन्दोलन, डकैती, आगजनी, तोडफोडका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न प्रमुख प्रतिपक्षी दल माओवादीले माग गरेको छ ।
माओवादी सांसद लेखनाथ दाहालले पूर्वराजा शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्टाटसमा उनले शाहको सेवा, सुविधा र सुरक्षा खारेज गरी गिरफ्तार गर्नुपर्ने उल्लेख गरेका छन्।
‘ज्ञानेन्द्रका समर्थकले राजावादीहरूको हिंसात्मक गतिविधिको भिडियो खिच्न गएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरेका छन्। तत्काल गिरफ्तार गरी मुद्दा चलाउनुपर्छ,’ उनले लेखेका छन् ।
काठमाडौँको तीनकुनेमा राजसंस्था समर्थकको प्रदर्शन उग्र बन्दा रजकको जलेर मृत्यु भएको थियो। प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको थियो । राजावादी समर्थकले विभिन्न एक दर्जन स्थानमा तोटफोड, आगजनी र लुटपाट गरेका थिए ।
हिंसात्मक आन्दोलनका कमान्डर दुर्गा प्रसाई भने फरार छन् । प्रहरीले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ । प्रसाईसहित तीनैजनाविरुद्ध मानव हत्याको अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।


