तरुण सम्वाददाता
२१ चैत्र २०८१, बिहीबार १०:१४
ललितपुर । सूचनाको हक कार्यान्वयन गर्दा भ्रष्टाचार नियन्त्रणमा रणनीतिक काम हुन्छ भन्दै सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार आयोजना गरेको नागरिकको सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका सम्बन्धी छलफलमा लितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सार्वजनिक निकाय तथा कार्यालयहरुले संवत् प्रकाशन गर्ने सूचना नियमित प्रकाशन गर्नुका साथै मागकर्ताले माग गरेको सार्वजनिक निकायको सूचना सहज रुपमा उपलब्ध गराउने परिपाटीको विकास गर्नुपर्ने बताए ।
‘सूचना अधिकारीहरूको क्षमता अभिबृद्धिका लागि सम्बन्धित कार्यालयले पनि ध्यान दिनुपर्छ, सूचना अधिकारीले आफ्नो कार्यालयको सूचनामा नियमित अध्यावधिक भएर रहनु अनिवार्य छ, सूचना मागकर्ताले माग्न आएपछि मात्रै सूचना अधिकारी सूचना खोज्न थाल्ने गर्दा प्रभावकारी हुँदैन, सूचनाको हक मानव अधिकार र मौलिक हकसंग पनि जोडिएको छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी ढकालले सूचनाको हक कार्यान्वयनमा सूचना मागकर्ताको सम्मान सूचना मागकर्ता र दाताको सम्मानलाई ध्यानमा दिएर कार्यान्वयन गरी सुशासन प्रवर्द्धनमा जोड दिए ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकसम्बन्धी ऐन, यसको उद्देश्य, ऐतिहासिक पृष्ठभूमि, सूचनाको हकसम्बन्धी संवैधानिक र कानूनी प्रबन्धका बारेमा ललितपुर जिल्लास्थित कार्यालयका सूचना अधिकारीहरुलाई सहजीकरण गरेको थियोे ।
उनले सूचनाको हकको कार्यान्वयनका लागि प्रचलनमा रहेका संरचनागत प्रबन्धका बारेमा जानकारी गराउँदै नागरिकको हक कुण्ठित हुनेगरी विगतका सरकारले सूचनाको बर्गीकरणमा गरेका गल्तीका बारेमा जानकारी गराए । ‘सूचनाको मागकर्ताले मागेअनुसारको सही सूचना सही समयमा उपलब्ध गराउनु सूचना अधिकारीहरुको पहिलो काम हो, सुशासनको प्रत्याभूतिका लागि सूचनाको हकको महत्त्व र भूमिका हुन्छ,’ उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सार्वजनिक सरोकारको सूचना सहजरूपमा उपलब्ध गराउनु सार्वजनिक निकायको दायित्व भएको भन्दै सूचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गरेर सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने दायित्वबाट विमुख हुन नहुने बताइन् ।


