तरुण खबर
२६ जेष्ठ २०७८, बुधबार ११:४४
काठमाडौं । विश्वभरि महामारी फैलिएको विषम परिस्थितिमा करीब दुई अर्ब मात्रा उत्पादन हुनु सकारात्मक उपलब्धि भएको विज्ञहरुले बताएका छन् । नयाँ घातक भाइरस पत्ता लगाउने तथा महामारी घोषणा गर्नेदेखि त्यसलाई नियन्त्रण गर्ने प्रयासमा सीमित समयमै दुई अर्ब मात्रा खोप बनाउने सफलता प्राप्त भएको छ । अपेक्षानुरूप काम भएमा विश्वका ५.८ अर्ब वयस्क मानिसका लागि यो वर्षभित्रै पूर्ण मात्रामा खोप लगाउन पर्याप्त उत्पादन हुने भएको छ । तर केही स्थानमा सीमित उत्पादन र केही देशले थुपारेकाले खोप सबैतिर पु-याउनुपर्छ भन्ने मान्यता भने प्रभावित भएको छ ।
प्रक्षेपणकर्ताहरूका अनुसार कमजोर थालनीपछि यो वर्षको तेस्रो र चौथो त्रैमासिकमा खोप उत्पादनले गति लिनेछ । ड्यूकको ग्लोबल हेल्थ इनोभेशन सेन्टर (जीएचआईसी) का अनुसार यो वर्ष १२ अर्बभन्दा धेरै मात्रा खोप उत्पादन हुन सक्छ । खोप उत्पादन र वितरणको निगरानी गरिरहेको एअरफिनिटी कम्पनीका अनुसार सन् २०२१ मा ११.१ अर्ब मात्राभन्दा केही अधिक खोप उत्पादन हुनेछ । त्यति परिमाणबाट विश्वभरिका ७५ प्रतिशत जनसङ्ख्याका लागि आवश्यक पर्ने १०.८२ अर्ब मात्रा पर्याप्त हुन्छ ।
एअरफिनिटी पाँच वर्ष तथा त्यसभन्दा माथिका मानिसलाई समेटेर त्यस्तो अनुमान गरेको हो । ड्यूकको जीएचआईसीमा सहायक निर्देशक एन्ड्रेआ ट्रेलर भन्छिन्– तर महामारीले विश्वभरि हामीसँग स्वस्थ र राम्रोसँग विस्तार भएको उत्पादन सञ्जाल छैन । उत्पादन हुने ठाउँको साँच्चिकै महत्व छ । धेरैजसो हाम्रो उत्पादन क्षमता अमेरिका र युरोपमा केन्द्रित छ । तिनै ठाउँले आफ्ना खोपका मात्रा छिट्टै पाएका छन् । किनकि उनीहरू आफैँले उत्पादन गरिरहेका छन् र निर्यात प्रतिबन्धजस्ता उपाय अपनाएर विश्वबजारमा आउनुभन्दा पहिले आफ्नो जनसङ्ख्यालाई खोप सुनिश्चित गर्छन् ।


