तरुण सम्वाददाता
२८ चैत्र २०८१, बिहीबार १२:०१
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीका नाममा विश्व क्रिकेटमा तीन कीर्तिमान कायम भएको छ । ऐरीले बिहीबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका हुन् ।
उनले करियरमा सबैभन्दा धेरै इनिङ शून्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्ने कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी–२० करियरमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।
बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए । उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन्, जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो नौ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन्। जुन तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ । त्यस्तै, एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन् । ऐरीकै कारण विश्व क्रिकेटले नेपालको नाम सधैं लिने गरेको छ ।


