अमेरिका–मेक्सिको सिमाना भ्रमण गर्न उपराष्ट्रपति ह्यारिसलाई दवाव

अमेरिका–मेक्सिको सिमाना भ्रमण गर्न उपराष्ट्रपति ह्यारिसलाई दवाव तरुण खबर २६ जेष्ठ २०७८, बुधबार ११:४९
अमेरिका–मेक्सिको सिमाना भ्रमण गर्न उपराष्ट्रपति ह्यारिसलाई दवाव

काठमाडौं । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिका र मेक्सिकोको सीमा क्षेत्रको भ्रमण गर्न दबाब परिरहेको छ । कीर्तिमानी संख्यामा आप्रवासीहरूले सीमा पार गरिरहँदा यो विषय उठेको हो । एकजना समाचार प्रस्तोताले अमेरिकाको उत्तरी सीमा क्षेत्रमा किन नगएको भन्दै प्रश्न गरेपछि ह्यारिसले त्यो प्रश्नलाई आलआल गरी टारेकी थिइन् । गैरकानुनी आप्रवासनबारे चेतावनी दिएपछि आफ्नै डेमोक्रयाटिक दलका नेताहरूले उनको चर्को आलोचना गरिरहेका छन् ।

दुई दशकभन्दा यताकै उच्च अर्थात् एक लाख ७८ हजार आप्रवासीहरू एप्रिल महिनामा सीमामा पुगेका थिए । उपराष्ट्रपतिका एकजना सहयोगीले प्रारम्भिक अवस्थामा सिमाना ह्यारिसको जिम्मेवारीमा पर्ने बताएका थिए । मार्च महिनामा अमेरिकी राष्ट्रपति जो बाइडनले उनलाई ल्याटिन अमेरिकाबाट भइरहेको आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी दिएका थिए । तर पछिल्लो समयमा उनका सहयोगीहरूले राजनीतिक रूपमा विवादित मुद्दाबाट ह्यारिसलाई अलग गर्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो सर्वेक्षणहरूमा अर्थतन्त्र र महामारीबारेका जो बाइडनका नीतिहरूलाई सकारात्मक रूपमा लिइए पनि आप्रवासनलाई सम्बोधन गर्ने उसको प्रयास त्यति लोकप्रिय पाइएको छैन । एनबीसी न्यूजको मङ्गलवार बिहान प्रसारित अन्तर्वार्तामा ह्यारिसलाई सीमा क्षेत्रको भ्रमण गर्ने योजनाबारे सोधिएको बीबीसी न्यूजले लेखेको छ । जवाफमा उनले कुनै समय हामी सीमामा जानेछौँ र हामी सीमा क्षेत्रमा गएका छौँ भनेर जवाफ दिएकी थिइन् । त्यसपछि प्रस्तोताले उनी स्वयं सीमा क्षेत्रमा हालसम्म नगएको भन्ने अर्को प्रश्न गरेपछि हाँस्दै उनले आफू युरोप पनि नगएको भन्दै तपाईँले उठाइरहेको सवाल मैले बुझ्न सकिन् भनिन् ।

मेक्सिकोमा संवाददाताहरूसँगको छलफलमा पनि सीमामा नगएको विषयमा प्रश्न गरिएपछि उपराष्ट्रपति ह्यारिसले त्यो भन्न सजिलो भएको र भ्रमण गर्दैमा समाधान ननिस्कने बताइन् । उनले आफू क्यालिफोर्नियाको सिनेटर हुँदा सीमा क्षेत्रको भ्रमणमा गएको बताइन् । कूटनीतिक सम्बन्ध अभिवृद्धि र गैरकानुनी आप्रवासन नियन्त्रण गर्ने उद्देश्य सहित ग्वाटमाला र मेक्सिकोको दुई दिने भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग भेटवार्ता गरेपछि उनका पछिल्ला भनाई आएको हो ।

यसअघि मेक्सिकोको राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले गैरकानुनी आप्रवासीको संख्या कीर्तिमानी रूपमा बढ्नुको कारण बाइडन प्रशासन रहेको बताएका थिए । उनले मेक्सिकोका श्रमिकको अधिकारका लागि १ सय ३० मिलियन डलर अमेरिकी सहयोगको घोषणा गरिन् । उनले मध्य अमेरिकामा महामारी र अघिल्लो वर्षको आँधीको प्रभावलाई कम गर्न ३ सय १० मिलियन डलर साहयता दिने बताएकी छन् । ह्यारिस र ओब्राडोरले गैर कानुनी आप्रवासन नियन्त्रणका लागि आर्थिक लगानी अभिवृद्धि गर्ने योजना घोषणा गरेका छन् ।

क्सिको सिटीमा भएको वार्तापछि आप्रवासनका जरैदेखीका कारण सम्बोधन गर्नु दुवै देशको हितमा रहेको उनीहरूले बताए ।  ह्यारिसले वासिङ्टनले दक्षिणी मेक्सिको र मध्य अमेरिकाको आर्थिक विकासमा सहायता गर्ने योजना बनाएको बताइन् । तर उनले आप्रवासन समस्या रातारात हल गर्न नसकिने उनले उल्लेख गरिन् । दुवै देशले यसै वर्षको अन्त्यतिर उच्चस्तरीय सुरक्षा बैठक गर्न सहमति जनाएका छन् । ग्वाटमालामा उनले गरेको सम्बोधनले बाइडेन प्रशासनको वाचा तोडेको भन्दै उनको आलोचना भइरहेको छ ।

ह्यारिसले गैरकानुनी आप्रवासीलाई सिमानामा नआउन भन्दै आए फिर्ता गरिने चेतावनी दिएकी थिइन् । सन् २०१९ मा राष्ट्रपतीय चुनाव लड्दै गर्दा उनले कागजपत्र नभएका आप्रवासीलाई फिर्ता गरेकोमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी थिइन् ।