ओलीको अवगाल बोकेर कांग्रेस कहिलेसम्म अघि बढ्छ ?

ओलीको अवगाल बोकेर कांग्रेस कहिलेसम्म अघि बढ्छ ? तरुण संवाददाता २ बैशाख २०८२, मंगलवार १०:०५
ओलीको अवगाल बोकेर कांग्रेस कहिलेसम्म अघि बढ्छ ?

काठमाडौं । केही समययता नेपाली कांग्रेसमा केपी ओली नेतृत्वको सरकारलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेको छ । पार्टीका शीर्ष नेता नै सरकारले विकल्पबारे सोच्नुपर्ने बताउन थालेका छन् ।कतिसम्म भने जतिसक्दो केपी ओलीको विकल्प कांग्रेसले खोज्यो, उति मुलुकका लागि हितकर हुने भन्ने बहस सुरु भएको छ ।

आज देशका सबै क्षेत्र आन्दोलनमा छन्, तर त्यसको निकासका लागि प्रधानमन्त्री ओलीमा कुनै गम्भीरता देखिन्न । बरु उनले एक लाख युवा सडकमा उतार्ने घोषणा गरेका छन् । सत्तामा बसेर समस्याको सम्बोधन गर्नुको साटो सडकमा थप अराजकता निम्त्याउन्न उद्धत देखिन्छन् ओली । त्यसैले कांग्रेस स्थायित्वको नाममा ओलीको अवगाल बोकेर कहिलेसम्म जान्छ ? सरकारको आयु लम्ब्याउनु मात्रै स्थायित्व हो ? कांग्रेसले एकपटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

ओली सरकार सुस्त भएको भन्दै पछिल्लो समय कांग्रेसमा डा.शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसीलगायतले आलोचना गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाले सरकारका गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको उनको भनाइ छ । ‘पार्टी सरकारमा गएको छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ,’ मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘जहाँ समस्या सिर्जना भएको छ तत्काल समाधान गर्नुपर्छ ।’

थापाले अहिले पनि कांग्रेसको नेता कुनै ठाउँमा उभिँदा जनताले भरोसा गर्नुपर्ने अवस्था देखिनुपर्नेमा त्यस्तो नभएको बताए । ‘कांग्रेसले देशलाई भरोसा दिन सक्छ कि सक्दैन ? जे जति गुनासा छन् सम्हाल्छौं भनेर भन्न सक्नुपर्छ । कांग्रेसको नेता उभिँदा जनताले भरोसा गर्नुपर्छ,’ उनले भने ।

यही गठबन्धनबाटै काम गर्नुपर्ने बताउँदै थापाले गति ठिक नभएको बताए । ‘सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ । गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन । सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो । कता कता जोश र उत्साह नेतृत्वबाट भएन । हामी कसरी चिर्ने भन्ने अलमलमा छौं । कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ,’ थापाले भने ।