तरुण सम्वाददाता
४ बैशाख २०८२, बिहीबार ११:०९
काठमाडौं । कांग्रेस–एमाले सत्ता सहकार्य पेचिलो बन्दै गएको छ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।
बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि बोलाइएको छ। देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो।
सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस यससभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित थिए ।
जसकारण कांग्रेस(एमाले गठबन्धन सरकारको आयुलाई लिएर प्रश्न उठिरहेको छ। उपसभापति र महामन्त्रीको अनुपस्थितिले सरकार सञ्चालनका लागि गठित संयन्त्रको बैठक नै प्रभावित भएपछि देउवाले बिहीबार पार्टीको बैठक राखेका हुन्।


