मुकुलले रविलाई दिए टोले गुण्डाको संज्ञा, पटके भएको आरोप

मुकुलले रविलाई दिए टोले गुण्डाको संज्ञा, पटके भएको आरोप तरुण संवाददाता ८ बैशाख २०८२, सोमबार १२:०५
मुकुलले रविलाई दिए टोले गुण्डाको संज्ञा, पटके भएको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई प्रहार गर्न अझै छाडेका छैनन् । आफूलाई पार्टीबाट निकालेको रिस उनले दिनहुँजसो सामाजिक सञ्जालमार्फत पोखिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा हाल रुपन्देही प्रहरी थुनामा रहेका रविलाई मुकुलले टोले गुण्डाको संज्ञा दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले रवि जेल आउनेजाने गरिरहने ‘पटके’ भइसकेको बताए। उनले रविको मुद्दाको फैसला, आदेशलगायत १८–२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउजाउ भइराखे भने अचम्म नमान्दा हुने पनि दाबी गरेका छन् ।

‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८–२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आउजाउ भइराखे भने अचम्म नमान्दा हुन्छ। तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जानेआउने गरिरहेका हुन्छन्। यसरी पटकपटक जेल जाने आउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ। रवि दाइ पनि ‘पटके’ भइसके,’ ढकालले भनेका छन् ।

रविको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि हुने जिकिर उनको छ। उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ, न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै रवि आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने भनाइ राखे।

रविको यो पटके अवस्थाका कारण अन्तिममा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस, एमाले, माओवादीले नै जित्ने ढकालले उल्लेख गरे। उनले तीतो सत्य नै यही भएको बताए।