सत्तामा बसेर पटकपटक जनतालाई दुःख दिँदै एमाले

सत्तामा बसेर पटकपटक जनतालाई दुःख दिँदै एमाले तरुण सम्वाददाता ११ बैशाख २०८२, बिहीबार १०:०५
सत्तामा बसेर पटकपटक जनतालाई दुःख दिँदै एमाले

काठमाडौं । सत्तामा बसेर एमालेले पटक पटक जनतालाई दुःख दिइरहेको छ । विगतमा जस्तै सत्तामा बस्ने र सडक प्रदर्शन गर्ने एमालेको बानी अहिलेसम्म हटेको छैन । बिहीबार पनि भृकुटीमण्डप आसपास त्यही भइरहेको छ ।

एमाले कार्यकर्ताले सडक अवरुद्ध पारेर प्रदर्शनीमार्गमा कार्यक्रमस्थल तयार पार्दैछन् । कार्यक्रम के हो ? किन र कसका लागि भन्ने कुरा आममानिसलाई चासो छैन । बटुवा मात्र होइन, नजिकैको तरकारी बजारमा समेत सडक अवरोध भएकोमा विरोध भइरहेको छ । बरु केपी ओलीमाथि अश्लील गालीगलौज भइरहेको छ ।

पछिल्ला प्रदर्शनहरुमा जनताको आकर्षण बढेको स्थिति हुन्थ्यो भने एमालेको प्रदर्शनले अर्थ राख्थ्यो होला । औचित्य पुष्टि हुन्थ्यो होला । आफै नतमस्तक भएको राजशाहीलाई के देखाउनु छ र शक्ति प्रदर्शनको आयोजना गर्नु ? बरु सत्तामा हुनेले त जनसमर्थन प्राप्त गर्न जनपक्षीय काम पो गरेर देखाउनुपर्थ्यो एमालेले त्यो गरेन ।

आफूलाई मन नपर्ने मन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने, सरकारलाई असहयोग गरेको भन्दै सत्तारुढ दलकै राज्यमन्त्री बर्खास्तमा प्रधानमन्त्री केपी ओली लागेका छन् । जनतामा असन्तुष्टिको चाङ छ । शिक्षक, कर्मचारी, चिकित्सक आन्दोलनमा छन् । तर एमाले भने गणतन्त्र रक्षा गर्ने भन्दै सडकमा मान्छे ओसार्ने अभियानमा छ । सत्तामै बसेर सडकमा प्रदर्शन गर्नुलाई कुनै पनि हालतमा राम्रो मानिन्न । तर एमालेलाई कसले के भन्छ भन्ने मतलव छैन । सधैं पपुलर नारा निकाल्ने र जनतालाई भुलभुलैयामा पार्ने काम एमालेबाट हुँदै आएको छ ।