झडपमा ६२ शिक्षक, पाँच प्रहरी घाइते

झडपमा ६२ शिक्षक, पाँच प्रहरी घाइते तरुण संवाददाता १४ बैशाख २०८२, आईतवार १८:१४
झडपमा ६२ शिक्षक, पाँच प्रहरी घाइते

काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हेलमेट लगाएका चारजनाले अन्धाधुन्ध लाठीचार्ज गर्न थालेपछि झडप भएको बताए ।

‘आन्दोलनमा घुसपैठ भयो, चारजनाले अन्धाधुन्ध लाठी हान्न थाले, प्रहरीले पानीका फोहराले हान्यो । पछि लाठी प्रहार भयो,’ उनले भने ।

घाइते शिक्षकहरुमध्ये तीनजनाको ट्रमा सेन्टर, १६ जनाको शिभिल र अन्यको एमरेस्ट अस्पतालमा उपचार । सात जना उपचारपछि फर्किएको प्रहरीले जनाएको छ । आजको शिक्षक आन्दोलनमा प्राइम टिभीमा कार्यरत सविना कार्कीको आँखामा चोट लागेको छ । उनको तिलगंगामा उपचार हुँदै छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। शिक्षक आन्दोलनमा पाँचजना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अविनाश बोहराले झडपका क्रममा एक लाख हाराहारीको क्षति भएको बताए । ‘प्रहरीहरुलाई पनि ढुंगा र इँटा प्रहार भयो, पाँचजना घाइते भए, लाठी भाँचिएको छ,’ उनले भने, एक लाख बरारको व्यारिकेट भत्काइएको छ ।’