शिक्षक र सरकारबीच ६० दिनभित्र शिक्षा ऐन जारी गर्ने सहमति

शिक्षक र सरकारबीच ६० दिनभित्र शिक्षा ऐन जारी गर्ने सहमति तरुण संवाददाता १७ बैशाख २०८२, बुधबार २०:२०
शिक्षक र सरकारबीच ६० दिनभित्र शिक्षा ऐन जारी गर्ने सहमति

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच नौबुँदे सहमति भएको छ। सिंहदरवारमा भएको वार्तामा ६० दिनभित्र (असार १५) शिक्षा ऐन जारी गर्ने सहमति भएको हो।

सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार हिँडेका छन् । शिक्षकका माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिने बताइएको छ। गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री पन्त आन्दोलनरत शिक्षकसँग वार्ता गर्न बसेका थिए।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको बताए । यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो । सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि वार्ता सकारात्मक भएको बताए। उनले आजै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताए।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता सकारात्मक भएको बताए । उनले आफूले राखेका मागबारे मन्त्रिपरिषद् बैठकले निर्णय गरे आन्दोलन रोकिने पनि बताए ।