नीति तथा कार्यक्रम एमालेमय भए पनि समर्थन गर्ने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रम एमालेमय भए पनि समर्थन गर्ने कांग्रेसको निर्णय तरुण सम्वाददाता २० बैशाख २०८२, शनिबार १८:४०
नीति तथा कार्यक्रम एमालेमय भए पनि समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो । सांसदहरूले नीति तथा कार्यक्रम एमालेमय भएको भन्दै आलोचना गरेका थिए । सांसदहरूले नीति कार्यक्रममा प्रश्नैप्रश्न गरेका थिए ।

कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले राष्ट्रिय आवश्यकता झल्कने बुँदाहरू भएकाले समर्थन गर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रम कार्यान्वयनमुखी बनाउन आगामी बजेट तर्जुमा त्यसअनुकूल हुनुपर्ने कांग्रेसको धारणा छ ।

संसद्मा विधेयक निर्माण प्रक्रिया सुस्त भएको भन्दै कांग्रेसले त्यसलाई तीव्र बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम एमालेमय भएको बताएका थिए । उनले कांग्रेसले प्रस्ताव गरेका र अघि सारेका परियोजना नसमेटिएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘नीति तथा कार्यक्रममा एमालेको समृद्ध नेपाल सुखी नेपाली नारा बोकियो । यो एमालेको नीति कार्यक्रमजस्तो भयो,’ परियारले भने, ‘कांग्रेसले अपनत्व लिने खालको नीति कार्यक्रम बनेन ।’

कांग्रेस बैठकमा ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गर्ने निर्णयको आलोचना भएको छ । सांसदहरुले पार्टीभित्र सल्लाह नगरि सिधै प्रधानमन्त्रीले बर्खास्त गर्नु आपत्तिजनक रहेको टिप्पणी गरेका हुन् । कुलमान घिसिङलाई साथ दिएको भन्दै प्रधानमन्त्री केपी ओलीले तामाङलाई ऊर्जामन्त्रीबाट बर्खास्त गरेका थिए ।

सांसद डिगबहादुर लिम्बुले पार्टीभित्र छलफल नगरि सिधै प्रधानमन्त्रीबाट बर्खास्त गरिनु उचित नभएको बताए । ‘कान्छारामको विषयमा पार्टीभित्रै छलफल हुनुपर्ने थियो । पार्टीले नै उनलाई बोलाएर स्पष्ट पार्नुपर्ने हो । अनि फिर्ता बोलाउने भए पनि पार्टी भन्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालयबाट होइन । असन्तुष्टि पनि भित्रै राख्ने हो अनि बोलावट पनि पार्टीभित्रैबाट हुनुपर्नेमा त्यो नहुनु दुखद छ,’ उनले भने ।