रामकुमारी झाँक्रीको भाषणले एकीकृत समाजवादीमा परकम्प

रामकुमारी झाँक्रीको भाषणले एकीकृत समाजवादीमा परकम्प तरुण संवाददाता १५ असार २०८२, आईतवार १५:१७
रामकुमारी झाँक्रीको भाषणले एकीकृत समाजवादीमा परकम्प

काठमाडौँ । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आफ्नो अभिव्यक्तिका कारण सधैं चर्चामा आइरहन्छिन् । कडा र स्पष्ट बोल्ने भएकाले पनि उनी विवादमा परिरहन्छिन् ।
आइतबार मात्र झाँक्रीले गरेको भाषणले एकीकृत समाजवादीमा ठूलै परकम्प गएको छ । उनले पार्टीमा संकट आएकाले पुनर्गठन गर्नुपर्ने बताएकी छन् ।

कानुनी र संवैधानिक हिसाबले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि संकट आएकाले अर्ली महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिइन् । ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा उनले भनिन् । पूर्वप्रधानमन्त्री नेपाल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट ३५ लाख धरौटी छुटेको पृष्ठभूमिमा झाँक्रीको यस्तो भनाइ आएको हो ।

नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषद् निर्णयबाट पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा किन्न दिएको र पछि त्यही जग्गा कानुनविपरीत बेचबिखन गर्न अनुमति दिएर हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध २२ जेठमा मुद्दा दायर गरेको थियो ।

‘अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरुबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न,’ उनको भनाइ थियो । रामकुमारीको यस्तो अभिव्यक्ति आएलगत्तै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले जवाफ फर्काएका छन् । ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरप्रस्ट भएछ’, उनले भनेका छन्, ‘हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक सञ्जाल प्रयोग गरेर, कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो ।’

तीन वर्षअघि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्दा झाँक्रीले माधवकुमार नेपाललाई दह्रो साथ दिएकी थिइन् । उनले नेपालको हात समाएर निर्वाचन आयोगमा लगेर पार्टी दर्ता गरेकी थिइन् । तर आफूलाई सहरी विकासमन्त्रीबाट चाँडै फिर्ता गरेपछि भने नेपाल र झाँक्रीबीच सम्बन्धमा दरार आएको थियो ।