तरुण सम्वाददाता
१६ असार २०८२, सोमबार १९:५५
काठमाडौं । पत्रकार दिलभुषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालत पाटनले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेको हो ।
पाठकले कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाले होटल हिल्टन खरिद गरेको विषयमा भिडियो प्रसारण गरेका थिए । तर उनले प्रमाण भने देखाउन सकेका थिएनन् ।
पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि चौतर्फी विरोध भएको थियो । तर अब अहिले प्रहरीले साइबर अपराधविरुद्ध मुद्दा दायर गरेपछि पाठकमाथि मुस्किल बढेको छ ।


