प्रधानमन्त्रीमाथि मानव तस्करी आरोप लगाउने सोविता गौतम आफैं फसिन्

प्रधानमन्त्रीमाथि मानव तस्करी आरोप लगाउने सोविता गौतम आफैं फसिन् तरुण संवाददाता २४ असार २०८२, मंगलवार १५:२६
प्रधानमन्त्रीमाथि मानव तस्करी आरोप लगाउने सोविता गौतम आफैं फसिन्

काठमाडौं । रास्वपा सांसद सोविता गौतम आफूले दिएको अभिव्यक्तिकै कारण अप्ठेरोमा परेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा गौतमले प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा जाँदा मान्छे लगेर त्यतै छाडेको उनले बताएकी थिइन् । जुन अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री कार्यालयले उनलाई पुष्टि गर्न चुनौती दिएको छ ।

‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्,’ गौतमले भनिन्, ‘यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भीर विषय हो ।’

सांसद गौतमले संसदमा समेत कुरा उठाएपछि प्रधानमन्त्री ओलीको सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको हो ? भनेर नाम बताइदिन आग्रह गरेको छ। प्रधानमन्त्री ओलीको सञ्चार विज्ञ रामशरण बजगाईले मिडियालाई प्रधानमन्त्री स्पेन भ्रमण जाँदाको लिस्ट नै पठाएर त्यसमध्ये को को नआएका हुन् जानकारी गराइदिन गौतमलाई चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्त’ विषयक सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन गएका थिए। स्पेनबाट उनी २० गते स्वदेश फर्किएका थिए।