नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव सम्पन्न

नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव सम्पन्न तरुण खबर २८ जेष्ठ २०७८, शुक्रबार ११:३८
नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्थापनको २९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव बोर्डका अध्यक्ष भिष्म ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो । चालु आवको १० महिनामा पुँजी बजारमा आइपीओमार्फत् ७८ अर्ब रुपैयाँ पुँजी परिचालन भएको कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले जानकारी दिनएका हुन् । त्यसैगरी धितोपत्र बजारबाट पुँजीगत लाभकरवापत सरकारले वर्षेनी १ अर्ब रुपैयाँ पाउँदै आएकोमा चालु आवमा त्यो संख्या मासिक १ अर्ब रुपैयाँ पुँजीगत लाभकर सरकारले लिने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनका अनुसार यसबीचमा डिम्याट खाता खोल्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत असार महिनासम्ममा १७ लाख डिम्याट खाता खुलेकोमा १० महिनामा शतप्रतिशतले बढेर ३५ लाखभन्दा बढी पुगेको छ । त्यसैगरी मेरो सेयरमा खाता खोल्नेको संख्या ७ लाखबाट साढे ३ गुणाले बढेर साढे २६ लाख पुगेको छ । त्यसैगरी आइपीओ भर्नेहरुहरुको संख्या ५ लाखबाट बढेर १८ लाखसम्म पुग्न थालेको छ । त्यसैगरी अनलाइन प्रयोगकर्तामा पनि उल्लेख्य वृद्धि भएको छ ।

गत असार मसान्तसम्ममा जम्मा ३५ हजार जनाले अनलाइन सेवा लिएकोमा १० महिनाको अवधिमा त्यो संख्या १७ गुणाले बढेर ६ लाख ६० हजार पुगेको छ । ढुंगानाले बजारपुँजीकरण गत असार मसान्तसम्ममा जीडीपीको तुलनामा ४५ प्रतिशत रहेकोमा १० महिनामा त्यो बढेर जीडीपीको आकार बराबर पुगेको बताए । उनले लकडाउनका कारण अनलाइन प्रयोगकर्ता बढेकाले सेयर बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको जारी विज्ञप्तिमार्फत् बताएका छन् ।