चीनको ‘सुप्राग्लेसियल’ हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको निष्कर्ष

चीनको ‘सुप्राग्लेसियल’ हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको निष्कर्ष तरुण संवाददाता २६ असार २०८२, बिहीबार १३:१८
चीनको ‘सुप्राग्लेसियल’ हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको निष्कर्ष

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको देखाएको हो ।

विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेसियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको बताए। ‘हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेसियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ’, उनले भने, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ। बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ। अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ।’

पराजुलीले चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको बताए। जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने जानकारी दिँदै उनले भने, ‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ।’

इसिमोडका वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोसीमा बाढी आएको पुष्टि गरेका छन्।