तरुण खबर
२६ असार २०८२, बिहीबार १९:४५
काठमाडाैं, २६ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियालाई तीव्रता दिँदै (शुक्रबार) दुई महत्वपूर्ण बैठक आयोजना गर्दैछ। महानगरपालिकाका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेका अनुसार, मेयर बालेन शाहले यी दुवै बैठक आह्वान गरेका हुन्।
बिहान ११ बजे स्रोत तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ। यस बैठकमा सम्बन्धित सबै सदस्यहरूलाई आधिकारिक पत्राचारमार्फत जानकारी गराइएको छ। यो बैठक आगामी आर्थिक वर्षको बजेटको आकार र प्राथमिकता निर्धारणका लागि महत्वपूर्ण मानिएको छ।
त्यसैगरी, आजै दिउँसो ४ बजे महानगरपालिकाको कार्यपालिका बैठक बस्नेछ। सहायक प्रवक्ता काफ्लेले कार्यपालिकाका सबै सदस्यहरूलाई समयमै बैठकमा उपस्थित हुन अपेक्षा गरिएको पुष्टि गरेका छन्।
काफ्लेले थपे, “यी बैठकहरू आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन र प्राथमिकताहरूलाई अन्तिम रूप दिनका लागि महत्वपूर्ण छन्।”


