गोसाइँकुण्डमा स्नान आरम्भ, कोरोना महामारीले मेला प्रभावित

गोसाइँकुण्डमा स्नान आरम्भ, कोरोना महामारीले मेला प्रभावित तरुण खबर २८ जेष्ठ २०७८, शुक्रबार ११:४८
गोसाइँकुण्डमा स्नान आरम्भ, कोरोना महामारीले मेला प्रभावित

काठमाडौं । मध्येकालमा नुवाकोट राज्य अन्तर्गत रहेको रसुवा जिल्लाको ४ हजार ३६० मिटर (१४ हजार ३ सय फीट) को उचाइमा रहेको गोसाइँकुण्डमा आज जेठ २८ गत स्नान आरम्भ हुने भएकोमा यस वर्ष कोरोना महामारीका कारण मेला नलाग्ने भएको छ । यो कुण्ड नेपालको सुप्रसिद्ध तीर्थस्थलमध्ये एक हो । पृथ्वीनारायण शाहबाट वि.सं.१८०१ मा नुवाकाट विजय गरिएपछि आफ्नो  अधिपत्यलाई सुदृढ गर्ने उद्देश्यले गोसाइँकुण्डमा स्नान गरेको इतिहासमा पाइन्छ ।

त्यस्तै, यो कुण्डमा कन्तिपुरका मल्ल राजाहरुले राजगद्दीमा बसेको पहिलो वा दोस्रो वर्षमा स्नान गर्ने चलन थियो । यो कुण्डलाई नेवारी भाषामा शिलु भनिन्छ । उत्तर र दक्षिणमा अग्ला डाँडाहरु र पूर्व र पश्चिममा उच्च भू–भागले घेरिएको यो कुण्ड निकै सुन्दर देखिन्छ । तिब्बत राजा स्रङ चोङ गोम्पोको त्यतिबेला शासक अंशुवर्माकी छोरी भृकुटीको विवाहपछि रसुवागढी, टिम्बुरे केरुङ मार्गबाटै विवाहित जोडी गएका थिए । प्रतप मल्लको अभिलेख अनुसार कान्तिपुर राज्यको अधिनमा कुति, केरुङ र खासा थिए ।

गोसाइँकुण्डको वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाइँकुण्ड जाने विद्यार्थी, शिक्षक र अन्वेषकहरू सुन्दरीजल (१,८९५ मिटर) बाट यात्रा आरम्भ गर्छन् । सुन्दरीजलबाट ठाडै उकालो हिँडेपछि साँझ् बास बस्न कुटुम्साङ पुगिन्छ ।

कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र त्यही साँझ् थारेपाटी पुगिन्छ । यहाँबाट पूर्वतिर लागे मिर्चौले खोला हुँदै हेलम्बू पुगिन्छ तर गोसाइँकुण्ड जान उत्तर–पश्चिमको बाटो समाउनु पर्छ । एउटा बाँदर लड्ने भीर काटेपछि तार्केघ्याङ पुगिन्छ । कुनैबेला भोटसितको युद्धका बेला जङ्गबहादुरका भाइ धीर शमशेरको नेतृत्वको फौजको यहाँ किल्ला थियो । साउन–भदौमा यो बाटोमा कोकलेका नीला फूल फक्रिइरहेका हुन्छन् । बिहानको खाना लसुन पकाउँदा जात जान्छ भन्ठान्ने, तामाङहरूको वस्ती गोल्फू छेपार पुगेर खान सकिन्छ।

पाँचौं दिनमा पुगिन्छ, गोसाइँकुण्ड क्षेत्रको पहिलो कुण्ड, ’सूर्यकुण्ड’ । यहाँबाट केही तल झरेपछि आइपुग्छ, ’गोसाइँकुण्ड’ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम हो । विषले निस्लोट भएका शिवले जमीनमा गाडेको त्रिशूलबाट तीनवटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ । गोसाइँकुण्डमा सबैभन्दा ठूलो मेला जनैपूर्णिमा (भाद्र पूर्णिमामा) मा लाग्छ जेठ पूर्णिमामा स्नान (दशहरा) आरम्भ हुन्छ ।

हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर पहिले पहिले सुन्दरीजलको बाटो छोटो भनिन्थ्यो । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । कात्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए वाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ । तर यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ । चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ । धुञ्चेबाट गाडी र वेत्रावतीतिरको पैदल यात्रा दुई विकल्प छन् ।