आर्थिक चलायमानताका लागि मौद्रिक नीतिमा लचकता आवश्यक: एफएनसीसीआई अध्यक्ष ढकाल

आर्थिक चलायमानताका लागि मौद्रिक नीतिमा लचकता आवश्यक: एफएनसीसीआई अध्यक्ष ढकाल तरुण खबर २७ असार २०८२, शुक्रबार १२:०६
आर्थिक चलायमानताका लागि मौद्रिक नीतिमा लचकता आवश्यक: एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडाैं, २७ असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले देशको आर्थिक गतिविधि बढाउनका लागि मौद्रिक नीति थप लचिलो हुनुपर्नेमा जोड दिएका छन्। उनले बजेट र मौद्रिक नीतिबीचको समन्वयबाट मात्रै अर्थतन्त्रले गति लिन सक्ने विश्वास व्यक्त गरे।

अध्यक्ष ढकालले निजी क्षेत्रले दिने सुझावहरूलाई कतिपय अवस्थामा व्यक्तिगत फाइदाका रूपमा हेरिने र त्यसैका आधारमा चाहिनेभन्दा बढी कडाइ गर्दा समग्र आर्थिक क्षेत्र चलायमान हुन नसकेको गुनासो गरे। उनले सरकारले ल्याएको बजेटको मर्म र भावनाअनुसार नै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा विशेष जोड दिए।

ढकालले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएका सुझावहरूमध्ये हालसम्म ३० वटा कानुन परिवर्तन भइसकेको जानकारी गराए, जसलाई सकारात्मक कदमका रूपमा हेरिएको छ। यद्यपि, सरकारले बजेटमा हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका विषयमा निजी क्षेत्रले हटाउन सुझाव दिए पनि त्यो कार्यान्वयनमा नआएकोमा उनले असन्तुष्टि व्यक्त गर्नुभयो। आगामी दिनमा यस्ता महत्वपूर्ण सुझावहरू कार्यान्वयन हुने विश्वास पनि उनले व्यक्त गरे।