तरुण खबर
२७ असार २०८२, शुक्रबार १२:११
काठमाडाैं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समृद्धि हासिल गर्न सरकार, युवा र महिला उद्यमीहरूको सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्। महिला उद्यमी महासंघले शुक्रबार आयोजना गरेको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सफलता र विकासका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
“हामीले उद्यमशीलताको प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च प्राथमिकता दिएको छ। मलाई विश्वास छ कि यस सम्मेलनका परिणामहरूले सरकारको विकास लक्ष्यहरू पूरा गर्न मद्दत गर्नेछन्।”
प्रधानमन्त्री ओलीले महिला सशक्तिकरणका लागि संवैधानिक प्रावधानहरूको कार्यान्वयनमा पनि प्रकाश पारे। उनले भने, “हामीले सरकारका तीनवटै तहमा महिलाको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौं। विद्यालयहरूमा अहिले छात्राको संख्या छात्रको भन्दा बढी छ। शैक्षिक प्रदर्शनमा पनि छोरीहरूले बढ्दो रूपमा उत्कृष्टता हासिल गरिरहेका छन्।” उनले थप प्रगति जारी राख्नुपर्नेमा जोड दिए।


