तरुण खबर
२७ असार २०८२, शुक्रबार १२:२२
काठमाडाैं, २७ असार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनीको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन्। उनि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो। विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
मन्त्री राणाले इटलीको रोममा जुन २८ देखि जुलाई ४ सम्म चलेको खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशन तथा सोही अवसरमा सम्पन्न उच्चस्तरीय मन्त्रीस्तरीय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए। अधिवेशनका विभिन्न सत्रहरूमा सहभागी हुँदै मन्त्री राणाले मुख्य सत्रलगायत उच्चस्तरीय बैठकहरूमा नेपालका तर्फबाट सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने सशक्त माग राखेका थिए। उनले जलवायु परिवर्तनको मार खेपिरहेका हिमाली क्षेत्रहरूलाई जलवायु वित्त र अनुकूलन प्रयासहरूमा उपेक्षा गरिएको भन्दै यस विषयमा सम्बद्ध सबैको ध्यान जानु जरुरी रहेकोमा जोड दिएका थिए।
इटली भ्रमणपछि मन्त्री राणा जर्मनी पुगेका थिए। जर्मनीमा उहाँले लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए। साथै, जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल-जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी गरेका थिए। मन्त्री राणाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको जानकारी पनि गराएका थिए।


