तरुण संवाददाता
२७ असार २०८२, शुक्रबार १५:३१
काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ। सात महिनापछि शुक्रबार दिउँसो महानगरको कार्यपालिका बैठक बसेको हो ।
मेयर बालेनले आगामी २९ असारमा नगर सभा बोलाइएको जानकारी दिँदै त्यसको तयारीका लागि कार्यपालिका बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको घोषणा गरे ।
बैठकको औपचारिक घोषणा गरेपछि बालेन तुरुन्तै बैठकस्थलबाट बाहिरिएका थिए। बैठक महानगरपालिकाको सभाहलमा बसेको थियो । बालेनले बैठकमा अन्य कुनै एजेन्डा नभएकाले स्थगित भएको जानकारी दिए । असार २९ गते राष्ट्रिय सभा गृहमा नगर सभा राखिने र बजेट पेस गरिने उनको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने भएको छ । शुक्रबार बसेको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ ।


