तरुण खबर
२९ असार २०८२, आईतवार ११:२३
काठमाडाैं, २९ असार । नेपाली बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) पनि ५० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत सो रकम खिच्न लागेको हो।
यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ।
केन्द्रीय बैंकले असार २९ गते मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल हुने बताएको छ। केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरेको छ।
निक्षेप संकलनका लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ। यसरी संकलित रकमको सावाँ तथा ब्याज साउन १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। असार महिना लागेसँगै केन्द्रीय बैंकले यो आठौं पटक निक्षेप संकलन गर्न लागेको हो, जसले बजारमा तरलता व्यवस्थापनको आवश्यकतालाई जोड दिएको छ।


