तरुण खबर
२९ असार २०८२, आईतवार १२:१७
काठमाडाैं, २९ असार । नेपाली बैंकिङ बजारमा निक्षेपको ब्याजदर घटिरहेको अवस्थामा निक्षेपकर्ताहरूलाई आकर्षक अवसर प्रदान गर्दै सिद्धार्थ बैंक लिमिटेडले ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्रको निष्कासन तथा बिक्री आज (आइतबार) देखि सुरु गरेको छ।
बैंकले १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ७.२५ प्रतिशत निश्चित ब्याजदरमा जारी गर्न लागेको हो। यसले लगानीकर्ताहरूलाई स्थिर र आकर्षक प्रतिफलको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ।
कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको छ। जसमध्ये, ६० प्रतिशत अर्थात् १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ) निजी तहबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १० लाख कित्ता (१ अर्ब रुपैयाँ) सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ। सर्वसाधारणको भागबाट ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम आवेदनको सीमा तोकिएको छैन, जसअनुसार लगानीकर्ताले उपलब्ध सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्।
ऋणपत्रको निष्कासन छिटोमा २०८२ असार ३२ गते बन्द हुनेछ भने ढिलोमा साउन ११ गतेसम्म खुला रहनेछ। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


