तरुण खबर
३० असार २०८२, सोमबार १२:५९
काठमाडाैं, ३० असार । विद्यालय शिक्षा ऐनविरुद्ध आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडफोड गर्ने प्रयास गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो। घटनास्थलमा विरोध उग्र बन्दै गएपछि सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्दै उनीहरूलाई पक्राउ गरेका हुन्।
नेविसंघका विद्यार्थीहरूले विद्यालय शिक्षा ऐन तत्काल लागू गर्न, विद्यार्थी प्रतिनिधित्वबिना बसेका सिनेट बैठकहरू अमान्य ठहर गर्न, र शिक्षक नियुक्ति प्रक्रियामा शतप्रतिशत खुला प्रतिस्पर्धा सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका थिए।
यसबाहेक, नेविसंघ कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले समेत ऐनको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा स्थानीय यातायात प्रभावित भएको थियो भने सर्वसाधारणले केहीबेर असहज अवस्था झेल्नुपरेको थियो।
प्रदर्शनकारीहरूले शिक्षक नियुक्तिमा पारदर्शिता र प्रतिस्पर्धाको माग गर्दै वर्तमान ऐनप्रति असन्तोष जनाउँदै आएका छन्। उनीहरूले दल विशेषको प्रभावमा शिक्षक नियुक्ति हुन नदिन ऐनमा स्पष्ट प्रावधान समावेश गर्नुपर्ने माग गरेका छन्।
प्रहरी प्रशासनले अवस्था नियन्त्रणमा रहेको जनाएको छ भने पक्राउ परेका विद्यार्थीहरूलाई आवश्यक अनुसन्धानपछि छाडिने जनाइएको छ।
यसैबीच, नेविसंघले आन्दोलन जारी रहने चेतावनी दिँदै विद्यार्थी प्रतिनिधित्वविना शिक्षा सम्बन्धी कुनै पनि नीतिगत निर्णय स्वीकार्य नहुने स्पष्ट पारेको छ।



