राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण आर्थिक विधेयक प्रमाणीकरण:

राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण आर्थिक विधेयक प्रमाणीकरण: तरुण खबर ३० असार २०८२, सोमबार १४:३३
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण आर्थिक विधेयक प्रमाणीकरण:

काठमाडाैं, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। शीतल निवासले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ को उपधारा २ बमोजिम यी विधेयकहरू प्रमाणीकरण गरिएको जानकारी दिएको छ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ (अर्थ विधेयक), र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यी तीनै विधेयक संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएका थिए। यी विधेयकहरू प्रमाणीकरण भएसँगै सरकारलाई आगामी आर्थिक वर्षका लागि आवश्यक स्रोतसाधन जुटाउन र बजेटमा उल्लिखित कार्यक्रम तथा सेवाहरू सञ्चालन गर्न कानुनी बाटो खुलेको छ।