तरुण खबर
३१ असार २०८२, मंगलवार ११:४९
काठमाडाैं, ३१ असार । जलवायु संकट गहिरिँदै जाँदा विश्वभर दिगो र स्वच्छ ऊर्जा समाधानको खोजी तीव्र बनेको छ। यसै सन्दर्भमा, नवीकरणीय ऊर्जाबाट पानीको इलेक्ट्रोलाइसिसमार्फत उत्पादन गरिने हरित हाइड्रोजन नेपाललगायत दक्षिण एसियाली राष्ट्रहरूका लागि ‘नेट-जिरो’ अर्थतन्त्रमा संक्रमणका लागि महत्वपूर्ण माध्यमका रूपमा उदाएको छ। नेपालमा यसको सम्भावना, चुनौती र आगामी बाटोबारे सरोकारवालाहरूबीच गहन छलफल भएको छ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (SAWTEE) र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM) को WTO चेयर्स प्रोग्राम–नेपालले संयुक्त रूपमा आयोजना गरेको एक सरोकारवाला छलफल कार्यक्रममा “नेपालमा हरित हाइड्रोजन: दिगो ऊर्जा भविष्यको ढोका खोल्दै” शीर्षकको एक मुद्दा नोटमाथि विस्तृत चर्चा भयो।
नेपालको सम्भावना र वर्तमान अवस्था: नेपालले हाल करिब ३,००० मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ, जसलाई आगामी एक दशकभित्र ४६.५ अर्ब अमेरिकी डलरको सार्वजनिक र निजी लगानीमार्फत २८,५०० मेगावाट पुर्याउने योजना छ। जलविद्युतलाई सरकारले प्राथमिकता प्राप्त क्षेत्रका रूपमा मान्यता दिएकाले अतिरिक्त बिजुलीलाई हरित हाइड्रोजन उत्पादनमा प्रयोग गरी यसलाई एक परिवर्तनकारी ऊर्जा विकल्प बनाउन सकिने बलियो आधारहरू छन्। यसका अतिरिक्त, काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबजस्ता विशेष अनुसन्धान संस्थाहरूले यो संक्रमणलाई समर्थन गर्न आवश्यक प्रविधिहरू विकास गर्न काम गरिरहेका छन्। यसले आन्तरिक रूपमा स्वच्छ औद्योगिकीकरणलाई बढावा दिन, ऊर्जा निर्यातमा विविधता ल्याउन र क्षेत्रीय स्वच्छ ऊर्जा संक्रमणलाई समर्थन गर्न ठूलो अवसर प्रदान गर्दछ।
छलफलका मुख्य बुँदाहरू:
माग र चुहावटको मूल्यांकन: कार्यक्रमको समापन गर्दै चेयर इमेरिटस डा. पोषराज पाण्डेले हरित हाइड्रोजनको इकोसिस्टमलाई राम्रोसँग बुझ्न यसको आपूर्ति र मागको मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले इकोसिस्टम विकास गर्दा हाइड्रोजन चुहावटप्रति सचेत रहनुपर्नेमा पनि जोड दिए।


