तरुण खबर
३१ असार २०८२, मंगलवार १२:१८
काठमाडाैं, ३१ असार । संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि तय भएको छ। यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको कार्यसूची: आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको २३औं वार्षिक प्रतिवेदन, २०८२ सभामा पेस गर्नेछन्। साथै, सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गरेर सुनाउ छन्।
राष्ट्रिय सभाको कार्यसूची: राष्ट्रिय सभाको बैठकमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पेस गर्नेछन्। यसका अतिरिक्त, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
आजका यी संसदीय बैठकहरूले देशको कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


