तरुण संवाददाता
१ श्रावण २०८२, बिहीबार ११:०६
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको काम तोकिएकै समयमा नबनेपछि र थप समय दिँदा पनि नबनेपछि ठेकेदार कम्पनीले आजदेखि दैनिक दुई लाख हर्जाना तिरेर काम गर्दै आएको छ ।
दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ । मैदानको प्यारापिट बनाउन बिकेओआई केसीडीसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत १९ र २२ फागुनमा मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्यारापिट बनाउने र फ्लडलाइट जडानको काम चलिरहेको छ । सम्झौताअनुसार आयोजनाको कुल रकमको ०.०५ प्रतिशत दैनिक जरिवाना तिर्नुपर्नेछ ।प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो । ३० असारमा ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो । यसरी जरिवाना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कुल रकमको १० प्रतिशत जरिवाना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।
निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको कार्यालयले जनाएको छ । यस आधारमा एक महिनामा ठेकेदार कम्पनीले ६० लाख नोक्सानी बेहोर्ने निश्चित छ । चार हजार कुर्सी जडान भइसकेका छन् भने छवटा फ्लड लाइटमध्ये तीनवटा पोल आएको छ ।
प्रधानमन्त्री केपी ओलीले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरिएको बताएका छन् ।
‘कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ। तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ । सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं,’ प्रधानमन्त्रीले भनेका छन् ।


