नयाँ आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरूको ब्याजदर घट्यो: श्रावणमा निक्षेपकर्तालाई कम प्रतिफल

नयाँ आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरूको ब्याजदर घट्यो: श्रावणमा निक्षेपकर्तालाई कम प्रतिफल तरुण खबर १ श्रावण २०८२, बिहीबार ११:४३
नयाँ आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरूको ब्याजदर घट्यो: श्रावणमा निक्षेपकर्तालाई कम प्रतिफल

काठमाडाैं, १ साउन । नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुवातसँगै आज साउन १ गतेदेखि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिमा गरेको ब्याजदर समायोजन र बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण बैंकहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदर घटाएका छन्।

गत असारको तुलनामा बैंकहरूले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदरमा कमी आएको छ। व्यक्तिगत मुद्दती निक्षेपमा असार महिनामा औसत अधिकतम ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउनमा घटेर ५.६९७५ प्रतिशत कायम भएको छ। यता, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ४.३७३ प्रतिशतबाट घटेर ४.११३ प्रतिशतमा झरेको छ।

नयाँ आर्थिक वर्षको पहिलो महिनाका लागि २० वाणिज्य बैंकमध्ये १४ वटा बैंकले ब्याजदर घटाएका छन्। ४ वटा बैंकले गत असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने २ वटा बैंकले भने केही वृद्धि गरेका छन्।

ब्याजदर घटाउने प्रमुख बैंकहरू:

श्रावणका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने बैंकहरूमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक र कृषि विकास बैंक रहेका छन्।

प्रभु बैंकले असारको तुलनामा सबैभन्दा धेरै ब्याजदर कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपमा ६.१ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ५ प्रतिशतबाट ३.२५ प्रतिशतमा झारेको छ। राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.५ प्रतिशत घटाएर ५.५ प्रतिशतमा ल्याएको छ भने संस्थागत दर ४ प्रतिशतमा यथावत् राखेको छ। एभरेस्ट बैंकले दुवै खालका निक्षेपमा ०.३ प्रतिशतले ब्याजदर घटाउँदै व्यक्तिगतमा ६.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत प्रदान गर्ने भएको छ।

एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा क्रमशः ६.२५ र ५.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगतमा ६ प्रतिशत र संस्थागतमा ३.१ प्रतिशत ब्याज दिने भएका छन्। नबिल बैंकले व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत निक्षेपमा ५.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगतमा ५.५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत, सिटिजन्सले व्यक्तिगतमा ५.५ प्रतिशत र संस्थागतमा ३ प्रतिशत, सानिमा बैंकले व्यक्तिगतमा ६.१८ प्रतिशत र संस्थागतमा ४ प्रतिशत, नेपाल एसबीआईले व्यक्तिगतमा ५.३५ प्रतिशत र संस्थागतमा ४.३५ प्रतिशत ब्याज दिने भएका छन्।

कुमारी बैंकले व्यक्तिगत निक्षेपमा ५.६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगतमा ५.४ प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगतमा ५.७५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

ब्याजदर यथावत राख्ने बैंकहरू:

नेपाल बैंकसहित चारवटा बैंकले गत असार महिनाकै ब्याजदरलाई श्रावणमा पनि निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ५.४५ प्रतिशत र संस्थागतमा ४.५ प्रतिशत ब्याज दिने भएको छ। यस्तै, एनएमबी बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगतमा ५.७५ प्रतिशत र संस्थागतमा ४.७५ प्रतिशत ब्याज दिने भएका छन्।

ब्याजदर बढाउने बैंकहरू:

साउनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ। बैंकले व्यक्तिगत निक्षेपमा ६.२६ प्रतिशत र संस्थागतमा ३.०१ प्रतिशत पुर्याएको छ। यता, हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत ब्याज दिने भएको छ।