राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई राहत: त्रैमासिक विवरण प्रकाशनको समयसीमा बढ्यो

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई राहत: त्रैमासिक विवरण प्रकाशनको समयसीमा बढ्यो तरुण खबर १ श्रावण २०८२, बिहीबार ११:४९
राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई राहत: त्रैमासिक विवरण प्रकाशनको समयसीमा बढ्यो

काठमाडाैं, १ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्न केही सहज हुने गरी समयसीमा लम्ब्याएको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार, अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले त्रैमासिक विवरण त्रैमास सकिएको १५ दिनभित्र सार्वजनिक गरे हुनेछ। यसअघि त्रैमासिक विवरण सात दिनभित्र प्रकाशित गर्नुपर्ने बाध्यता थियो।

त्यस्तै, आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमासको विवरण प्रकाशनका लागि पनि समयसीमा बढाइएको छ। अघिल्लो व्यवस्थाअनुसार चौथो त्रैमासको विवरण २१ दिनभित्र प्रकाशन गर्नुपर्ने बाध्यता रहेकोमा अब साउन ३० गतेभित्र सार्वजनिक गरे पुग्नेछ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदनसहित प्रमुख वित्तीय परिसूचकहरू उल्लेख गरिएको संक्षिप्त अन्तरिम विवरण त्रैमास समाप्त भएको मितिबाट १५ दिनभित्र अनिवार्य रूपमा एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ।’ यससँगै सो प्रतिवेदनको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पनि बुझाउनु पर्नेछ।

रिपोर्टिङको पारदर्शिता सुनिश्चित गर्न, विस्तृत विवरण भने बैंकको आधिकारिक वेबसाइटमा राख्नुपर्ने व्यवस्था यथावत् राखिएको छ। साथै, वेबसाइटमा राखिएको विवरणको उल्लेख अखबारमा प्रकाशित हुने संक्षिप्त विवरणमा गर्नुपर्नेछ।