तरुण खबर
१ श्रावण २०८२, बिहीबार १२:२५
काठमाडाैं, १ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँको घुसकाण्डमा राजीनामा दिएको एक दिनपछि भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलराम अधिकारीमाथि पनि छुट्टै घुस प्रकरणमा मुछिएको आरोप लागेको छ। एक अडियो रेकर्डिङ सार्वजनिक भएपछि मन्त्री अधिकारी विवादमा तानिएका हुन्।
११ मिनेट ४६ सेकेन्ड लामो उक्त अडियो रेकर्डिङमा मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ। अडियोमा उल्लेख भएअनुसार, यो घुस लेनदेन उहाँका छोरा मनोज अधिकारीमार्फत भएको बताइएको छ। यद्यपि, उक्त अडियोको प्रामाणिकता भने अझै पुष्टि हुन सकेको छैन।
सार्वजनिक भएको अडियो संवाद—जुन सरकारी कार्यालय वा मन्त्रालयभित्रै भएको मानिएको छ—मा मन्त्री अधिकारीलाई रातो वा हरियो झोलामा ३२ लाख रुपैयाँ बुझाएको उल्लेख छ। यो रकम पोखरा महानगरपालिकामा १३५ रोपनी जग्गा एक निजी व्यक्तिको नाममा दर्ता गराउन सहजीकरण गरेबापत लिएको आरोप लगाइएको छ।
यो अडियो सार्वजनिक भएपछि राजनीतिक र सार्वजनिक वृत्तमा थप हलचल मच्चिएको छ। यसअघि नै मन्त्री गुप्ताको घुसकाण्डले सरकारमाथि प्रश्न उठिरहेका बेला अर्का मन्त्रीमाथि यस्तै प्रकृतिको आरोप लाग्दा सरकारमाथि थप दबाब बढेको छ। यस प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न चौतर्फी माग उठेको छ।


