घुसकाण्डको अडियो आफ्नो नभएको मन्त्री अधिकारीको दाबी

घुसकाण्डको अडियो आफ्नो नभएको मन्त्री अधिकारीको दाबी तरुण संवाददाता १ श्रावण २०८२, बिहीबार १६:१५
घुसकाण्डको अडियो आफ्नो नभएको मन्त्री अधिकारीको दाबी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस प्रकरणमा आफू नमुछिएको दाबी गरेका छन् । उनले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् ।

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु ।

अधिकारीले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए । आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरे ।

केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्न मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको उनले बताए । ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए,’ उनले भने ।

अधिकारीले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको जिकिरे गरे । ‘मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन । मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन । उहाँले जान्न भन्नुभएको थियो होला,’ उनले भने, ‘उहाँ मुद्दामा पनि जानुभयो । गएपछि उहाँको फैसलामा आएन । अहिले आएर जोडेर अब मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर हाम्रो चरित्र हत्या गर्ने र आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ ।’ पोखराको जग्गामा उनी मुछिएको अडियोबाटै खुल्छ ।