जी–सेभेनमा संलग्न राष्ट्रको उद्देश्य, सय दिनभित्रै संक्रमण झार्ने

जी–सेभेनमा संलग्न राष्ट्रको उद्देश्य, सय दिनभित्रै संक्रमण झार्ने तरुण खबर ३० जेष्ठ २०७८, आईतवार ११:१३
जी–सेभेनमा संलग्न राष्ट्रको उद्देश्य, सय दिनभित्रै संक्रमण झार्ने

काठमाडौं । धनी देशहरूको समूह जी–सेभेनका नेताहरूले कोभिड–१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्दैछन् । कोर्न्वलमा भइरहेको जी–सेभेन सम्मेलनको दोस्रो दिन उनीहरूले एउटा घोषणापत्र जारी गर्नेछन् जसमा उक्त उद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन् । खोपहरू विकास गर्न आवश्यक समयलाई १०० दिनभित्र झार्ने उनीहरूको लक्ष्य छ ।

शुक्रवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुझ्न आग्रह गरेका थिए बीबीसी न्यूजले लेखेको छ । तीन दिने सम्मेलनको आतिथ्य गरिरहेका जोनसनले सन् २००८ को आर्थिक सङ्कटका ’गल्तीबाट’ सिक्दै असमानतासँग जुझ्नु महत्त्वपूर्ण रहेको बताएका थिए । शुक्रवारका छलफलहरूपछि नेताहरूले कोर्न्वलकै इडन प्रोजेक्ट परिसरमा महारानीसँग रात्रि भोज गरेका थिए ।

तस्बिर खिच्नेक्रममा महारानीले ठट्टा गरेको सुनिएको थियो– के हामीहरू रमाइरहेजस्तो देखिनुपर्ने हो ? त्यो सुनेर महारानी वरपर रहेका नेताहरूमा हाँसो गुञ्जियो ।  प्रधानमन्त्री जोनसनले भनेका थिए “हो“, हामी जस्तो देखिएको भएपनि रमाइरहेका छौँ । विश्वका उन्नत अर्थतन्त्रहरू क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, संयुक्त अधिराज्य र अमेरिकासहित युरोपेली संघ ईयूका दुई शीर्ष नेताले उक्त सम्मेलनमा सहभागिता जनाइरहेका थिए ।
महामारीबारे घोषणपत्र
शनिबारको विशेष सत्रपछि नेताहरूले कर्बिस वे घोषणापत्र जारी गर्नेछन् । जसमा कोभिड–१९ का कारण क्षतविक्षत भएका मानवीय र आर्थिक हानिको कुनै पुनरावृत्ति नहुने प्रयास स्वरूप योजनाहरू समेटिनेछन् । महामारी सुरु भएयता विश्वभर साढे १७ करोड मानिसहरू कोरोनाभाइरसबाट संक्रमित हुनुका साथै ३७ लाखभन्दा धेरैले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ ।

जी–सेभेनको घोषणापत्रमा केही मुख्य बुँदाहरुमा खोपको विकास र अनुमति दिने समय घटाउँदै भविष्यमा देखा पर्ने कुनै रोगको पहिचान र उपचारलाई सय दिनभित्र सीमित पार्ने उद्देश्य राखिएको छ भने अर्को दुई बुँदा विश्वव्यापी निगरानी सञ्जाल र जिनोमिक सिक्वेन्सिङ्ग क्षमतालाई थप सबल बनाउने र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई सुधार गर्दै थप बलियो बनाउन सहायता गर्ने रहेको छ ।

सम्मेलनअघि बोरिस जोनसनले भनेका थिए– साँच्चिकै कोरोनाभाइरसलाई पराजित गरेर त्यसको असरबाट बाहिर निस्कने हो भने हामीले यस्ता महामारीलाई भविष्यमा कहिल्यै दोहोरिन दिनबाट रोक्नुपर्छ । त्यसको मतलब पछिल्ला १८ महिनाबाट सिक्दै अब आउँदो समय फरक तरिकाले काम गर्नु हो ।