तरुण खबर
३ श्रावण २०८२, शनिबार ११:३४
काठमाडाैं, ३ साउन । नेपालको एक अग्रणी सरकारी स्वामित्वको वित्तीय संस्था, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देव कुमार ढकाललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ। शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
ढकालले नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी विभिन्न पद र जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।3 केन्द्रीय बैंकमा निर्देशकको रूपमा समेत कार्य गरिसकेका ढकाललाई वित्तीय प्रणाली, बैंकिङ प्रशासन र नियामक प्रणालीको गहिरो ज्ञान भएको व्यक्ति मानिन्छ। उनको लामो र विविध अनुभवले राष्ट्रिय वाणिज्य बैंकलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
विसं. २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा ३०९ शाखा सञ्जालमार्फत करिब ४७ लाख सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। ढकालको नेतृत्वमा बैंकले आफ्नो सेवालाई अझ समयसापेक्ष र प्रविधिमैत्री बनाउँदै वित्तीय समावेशीकरण र दिगो बैंकिङ विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


